शाहरुखको नाइट राइडर्सको अमेरिकामा आफ्नै क्रिकेट मैदान

१९ आषाढ़, २०८३, शुक्रवार
सारांश
  • यो मैदान २०२८ ग्रीष्मकालीन ओलम्पिकमा क्रिकेटको पुनरागमनसँग पनि जोडिएको छ । आगामी ओलम्पिकका क्रिकेट प्रतियोगिताका सम्भावित मुख्य खेलस्थलमध्ये यसलाई एक मानिएको छ ।

काठमाडौँ: शाहरुख खानको स्वामित्व रहेको नाइट राइडर्स समूहले मेजर लिग क्रिकेटसँगको सहकार्यमा अमेरिकामा नयाँ क्रिकेट मैदान निर्माण गरेको छ । नाइट राइडर्स क्रिकेट ग्राउन्ड क्यालिफोर्नियाको लस एन्जलस काउन्टीस्थित पोमोना सहरको फेयरप्लेक्स क्षेत्रमा निर्माण गरिएको हो ।

 

यो मैदान मेजर लिग क्रिकेटमा प्रतिस्पर्धा गर्ने लस एन्जलस नाइट राइडर्सको घरेलु मैदान हुनेछ । करिब १०० दिनमै निर्माण सम्पन्न भएको यो मैदानलाई अमेरिकामा क्रिकेटको विस्तारका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

 

मैदान सार्वजनिक भएपछि शाहरुख खानले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै आफूले देखेको सपना साकार भएको बताएका छन् । उनले लस एन्जलसको नाइट राइडर्स क्रिकेट ग्राउन्डमा सबैलाई स्वागत गर्दै यो मैदान क्रिकेट मात्र नभई मनोरञ्जन, परिवार र अविस्मरणीय क्षणका लागि पनि निर्माण गरिएको उल्लेख गरेका छन् ।

 

उनले यस परियोजनामा सहयोग पुर्‍याएकोमा आइसीसीप्रति आभार व्यक्त गर्दै यो मैदान लस एन्जलसका बासिन्दामात्र होइन, विश्वभरका क्रिकेट समर्थक र सम्पूर्ण नाइट राइडर्स परिवारलाई समर्पित रहेको बताएका छन् ।

 

शाहरुखले सार्वजनिक गरेको भिडियोमा पाकिस्तानमा जन्मिएका तथा अमेरिकाका अन्तर्राष्ट्रिय क्रिकेटर अली खान पनि देखिएका छन् । अली खान हाल अमेरिकाको राष्ट्रिय टोली र लस एन्जलस नाइट राइडर्सबाट खेल्दै आएका छन् । भिडियोमा वेस्ट इन्डिजका पूर्व क्रिकेटर ड्वेन ब्राभो र सुनिल नारन पनि सहभागी छन् ।

 

यो मैदान २०२८ ग्रीष्मकालीन ओलम्पिकमा क्रिकेटको पुनरागमनसँग पनि जोडिएको छ । आगामी ओलम्पिकका क्रिकेट प्रतियोगिताका सम्भावित मुख्य खेलस्थलमध्ये यसलाई एक मानिएको छ ।

 

गल्फ न्युजका अनुसार मैदानको मुख्य क्षेत्रमा आठ वटा पिच तयार गरिएको छ । साथै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को मापदण्डअनुसार सीमारेखा तथा करिब १२० फिट अग्ला छ वटा फ्लडलाइट टावर जडान गरिएको छ ।

 

लस एन्जलस नाइट राइडर्सले सन् २०२३ मा सुरु भएको मेजर लिग क्रिकेटको पहिलो संस्करणदेखि सहभागिता जनाउँदै आएको छ । टोली पहिलो सिजनमा अंकतालिकाको पुछारमा रहेको थियो । सन् २०२४ मा पाँचौँ स्थानमा उक्लिए पनि सन् २०२५ मा फेरि छैटौँ स्थानमा सीमित भएको थियो ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार